प्रस्तावना
जीवनले सधैँ मानिसले देखेको सपना पूरा गरिदिँदैन। कहिलेकाहीँ परिस्थितिले उसलाई रोजेको बाटोबाट मोड़िदिन्छ। तर, लक्ष्य स्पष्ट छ भने बाटो परिवर्तन हुनु हार्नु होइन, नयाँ सम्भावनाको शुरुआत पनि हुन सक्छ। डा. दिलीप पाण्डेको जीवनयात्राले यही सत्यलाई प्रमाणित गर्छ।
डा. पाण्डेको विज्ञान पढ्ने सपना अधुरै रह्यो। परिस्थितिले रोजेको बाटो बदल्न बाध्य बनायो। तर, ज्ञानप्रतिको तिर्खा, निरन्तर अध्ययन गर्ने जाँगर र अनुसन्धानप्रतिको अटल विश्वासले डा. पाण्डेलाई अन्ततः सिक्किमबाट कानून विषयमा विद्यावारिधि (पीएचडी) हासिल गर्ने पहिलो व्यक्तिका रूपमा स्थापित गरायो। यो केवल एउटा व्यक्तिको शैक्षिक उपलब्धिको कथा होइन, परिस्थितिसँग सम्झौता नगरी लक्ष्यप्रति अडिग रहने अदम्य सङ्कल्पको कथा हो। सङ्घर्षले मानिसलाई रोक्दैन, बरु उसको गन्तव्यलाई अझ अर्थपूर्ण बनाउँछ भन्ने सत्यलाई उनको जीवनयात्राले प्रमाणित गर्छ।
सपनाको दिशा फेरियो, यात्राको लक्ष्य फेरिएन
कुनै पनि सफलताको कथा अन्तिम उपलब्धिबाट शुरु हुँदैन। त्यसको शुरुआत प्रायः साधारण देखिने बाल्यकाल, साना सपना र अनगिन्ती सङ्घर्षबाट हुन्छ। डा. दिलीप पाण्डेको जीवन पनि त्यसको अपवाद होइन। गान्तोक नजिकैको राङ्का जुनियर हाई स्कूल (हाल राङ्का सिनियर सेकेण्डरी स्कूल) बाट उनको औपचारिक शिक्षायात्रा शुरु भयो। त्यसपछि टाशी नामग्याल सिनियर सेकेण्डरी स्कूलबाट विद्यालय शिक्षा पूरा गरे। विद्यालय जीवनमा उनी मेहनती, जिज्ञासु र अध्ययनप्रति गम्भीर विद्यार्थीका रूपमा चिनिन्थे।
त्यतिबेला उनको सपना स्पष्ट थियो-विज्ञान पढ्ने। विज्ञान विषयप्रति उनको आकर्षण गहिरो थियो। भविष्यमा त्यही क्षेत्रबाट अगाड़ि बढ्ने सोच पनि थियो। तर, जीवनले सबै योजना स्वीकार गर्दैन। पारिवारिक र परिस्थितिजन्य कारणले विज्ञान अध्ययनलाई निरन्तरता दिन सम्भव भएन।
धेरै मानिसका लागि त्यो क्षण निराशाको कारण बन्न सक्थ्यो। कतिपयले त्यसलाई आफ्नो सपना टुटेको रूपमा स्वीकार्थे। तर, डा. पाण्डेले त्यसलाई जीवनको अन्त्य होइन, नयाँ दिशाको शुरुआत बनाए। उनले मानविकी सङ्काय रोजे अनि तादोङ सरकारी महाविद्यालयबाट स्नातक अध्ययन शुरु गरे। पछि आफ्नो विद्यार्थी जीवन सम्झँदै उनी सहज रूपमा भन्छन्- “जीवनले कहिलेकाहीँ बाटो परिवर्तन गरिदिन्छ। त्यसलाई स्वीकारेर अगाड़ि बढ़्न सक्नुपर्छ।”
सायद यही सोचले उनलाई भविष्यको कठिन यात्राका लागि तयार बनाइरहेको थियो। स्नातक अध्ययन पूरा गरेपछि उनी सिक्किम सरकारको ग्रामीण विकास विभागमा ग्रामीण विकास सहायकका रूपमा नियुक्त भए। सरकारी सेवामा प्रवेश गर्नु आफैँमा ठूलो उपलब्धि थियो। स्थिर जागिर, सम्मानजनक जिम्मेवारी र सुरक्षित भविष्य-यी सबै धेरै युवाको सपना हुने गर्छन्। तर, उनका लागि त्यो अन्तिम गन्तव्य थिएन।
उनको मनमा एउटा प्रश्न अझै बाँकी थियो- “के मेरो सिकाइ यत्तिमै टुङ्गियो?”
यही प्रश्नले उनलाई फेरि कक्षाकोठातिर फर्कायो। दिनभरि सरकारी कार्यालयको जिम्मेवारी पूरा गर्ने र साँझ कानून पढ्न कक्षामा पुग्ने उनको दैनिकी शुरु भयो। थकान थियो, समयको अभाव थियो, तर सिक्ने चाहना ती सबैभन्दा बलियो थियो। सिक्किम गभर्मेन्ट ल कलेजमा एलएलबी अध्ययन शुरु गरेपछि उनले विस्तारै के महसुस गरे भने कानून केवल एउटा शैक्षिक विषय होइन। यो समाज, न्याय, शासन र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोड़िएको विषय रहेछ।
यही अध्ययनले उनीभित्र नयाँ जिज्ञासा जगायो। जति पढ्दै गए, त्यति नै अझ गहिराइमा पुग्ने इच्छा बढ्दै गयो। त्यति बेला उनलाई साँझको कक्षामा शुरु भएको यही यात्रा एकदिन उनलाई सिक्किमको शैक्षिक इतिहासमा एउटा नयाँ अध्याय लेख्ने स्थानसम्म पुर्याउनेछ भन्ने थाहा थिएन।
दिनभरि सरकारी कार्यालयको जिम्मेवारी पूरा गरेर साँझ कक्षामा बस्नु सहज थिएन। तर, सिक्ने इच्छाले थकानलाई जित्यो। सिक्किम गभर्मेन्ट ल कलेजमा साँझ सञ्चालन हुने एलएलबीमा भर्ना भएपछि उनको जीवनले नयाँ मोड़ लियो। त्यो निर्णयले उनलाई केवल कानूनको विद्यार्थी बनाएन, भविष्यमा इतिहास रच्ने यात्राको पहिलो खुड्किलो पनि बन्यो।
सरकारी सेवासँगै ज्ञानको खोजी-
सरकारी सेवामा प्रवेश गरेपछि धेरै मानिसको प्राथमिकता स्थिर जीवनतर्फ केन्द्रित हुन्छ। नियमित जागिर, पारिवारिक जिम्मेवारी र भविष्यको सुरक्षाबीच उच्च शिक्षाको सपना विस्तारै ओझेलमा पर्न थाल्छ। तर डा. दिलीप पाण्डेका लागि सरकारी जागिर अन्तिम उपलब्धि थिएन। उनका लागि त्यो ज्ञानको यात्रालाई निरन्तरता दिने एउटा आधार मात्र थियो।
ग्रामीण विकास विभागमा ग्रामीण विकास सहायकका रूपमा कार्यरत रहँदा दिनभरि सरकारी जिम्मेवारी निर्वाह गर्थे। कार्यालयको समय सकिएपछि भने उनको अर्को संसार शुरु हुन्थ्यो-कक्षाकोठा, कानूनका पुस्तक र अध्ययन। दिनभरि सरकारी कार्यालय र साँझ कानूनको कक्षा। वर्षौँसम्म यही दैनिकी दोहोरिरह्यो। त्यो सजिलो थिएन। थकान, समयको अभाव र दैनिक जिम्मेवारीबीच अध्ययनलाई निरन्तरता दिन असाधारण अनुशासन आवश्यक पर्थ्यो। तर, उनका लागि सिकाइ कुनै बाध्यता थिएन, आत्मसन्तुष्टिको माध्यम थियो।
यही समर्पणका साथ उनले सिक्किम गभर्मेन्ट ल कलेजबाट एलएलबी अध्ययन पूरा गरे। एलएलबीपछि उनको सोच अझ फराकिलो बनिसकेको थियो। कानूनका धाराहरू कण्ठस्थ गर्नु मात्र कानूनको अध्ययन होइन भन्ने कुरा उनले बुझिसकेका थिए। समाज किन बदलिन्छ? कानून किन परिवर्तन हुन्छ? न्यायको अवधारणा समयसँगै कसरी विकसित हुन्छ? यस्ता प्रश्नहरूले उनलाई निरन्तर घच्घच्याइरहे। यही जिज्ञासाले उनलाई एलएलएम अध्ययनतर्फ डोर्यायो।
उच्च अध्ययनको क्रममा उनले अनुसन्धानको महत्त्वलाई नजिकबाट बुझे। विशेष गरी सिक्किमको वन संरक्षणसम्बन्धी कानूनी व्यवस्थामाथि तयार गरिएको अनुसन्धानमूलक प्रबन्धले उनको दृष्टिकोणलाई अझ व्यापक बनायो। उनलाई पहिलोपटक महसुस भयो-अनुसन्धान भनेको केवल डिग्री प्राप्त गर्ने प्रक्रिया होइन, नयाँ ज्ञान सिर्जना गर्ने जिम्मेवारी पनि हो।
यही अनुभवले उनको मनमा अर्को सपना जन्मायो- विद्यावारिधि गर्ने। तर, त्यो सपना देख्नु र पूरा गर्नु दुई फरक कुरा थिए। उनी सरकारी सेवामा थिए। लामो समय अध्ययनका लागि बिदा आवश्यक थियो। सरकारी प्रक्रिया, अनुमति र जिम्मेवारी-सबैलाई सन्तुलनमा राख्नुपर्ने अवस्था थियो।
यही क्रममा उनले तत्कालीन मुख्यमन्त्री पवन चामलिङसमक्ष आफ्नो अध्ययनको उद्देश्य राखे। उनको चाहना व्यक्तिगत उन्नतिमा मात्र सीमित थिएन। सिक्किममा कानुनी शिक्षाको स्तर उकास्न अनुसन्धान आवश्यक छ भन्ने उनको स्पष्ट धारणा थियो।
राज्य सरकारले उनको अध्ययन योजनालाई सकारात्मक रूपमा लियो। अन्ततः उनलाई 720 दिनको अध्ययन बिदा स्वीकृत भयो। त्यो स्वीकृति एउटा प्रशासनिक निर्णय मात्र थिएन। त्यो एउटा शिक्षक बन्ने सपना देखिरहेका सरकारी कर्मचारीमाथि गरिएको विश्वास थियो। उनी आज पनि त्यो क्षणलाई विशेष रूपमा सम्झन्छन्। किनभने त्यही निर्णयले उनको जीवनलाई नयाँ मोड़ दियो। अब उनीसँग समय थियो, उद्देश्य थियो र त्यो उद्देश्य पूरा गर्ने दृढ़ अठोट पनि।
यद्यपि, उनलाई त्यतिबेला थाहा थिएन- अब शुरु हुन लागेको यात्रा नै उनको जीवनको सबैभन्दा कठिन परीक्षा बन्नेछ। त्यो परीक्षा केवल विश्वविद्यालयको थिएन।
त्यो धैर्यको परीक्षा थियो।
सङ्कल्पको परीक्षा थियो।
र आफ्नै सपनामाथिको विश्वासको पनि परीक्षा थियो।
अनुसन्धान, सङ्घर्ष र इतिहास निर्माण-
कुनै पनि विद्यावारिधिको यात्रा विश्वविद्यालयमा भर्ना भएर शुरु हुँदैन। त्यसको शुरुआत जिज्ञासाबाट हुन्छ-एउटा यस्तो जिज्ञासा, जसले सामान्य उत्तरमा चित्त बुझाउन सक्दैन। एलएलएम अध्ययनको क्रममा अनुसन्धानको स्वाद चाखिसकेपछि डा. दिलीप पाण्डेको मनमा एउटा दृढ़ विश्वास जन्मिसकेको थियो- ज्ञानलाई केवल पढ़ेर होइन, नयाँ ज्ञान सिर्जना गरेर पनि समाजलाई योगदान दिन सकिन्छ। यही विश्वासले उनलाई विद्यावारिधिको यात्रातर्फ डोर्यायो। उनले शुरुमा उत्तर बङ्गाल विश्वविद्यालयबाट अनुसन्धान प्रारम्भ गरे। अनुसन्धानको विषय पनि अत्यन्तै सान्दर्भिक थियो- सिक्किमको वन संरक्षणसम्बन्धी कानुनी व्यवस्था। प्राकृतिक सम्पदाले सम्पन्न सिक्किमका लागि यो कानुनी विषय मात्र थिएन; पर्यावरण, विकास र सार्वजनिक नीतिसँग गाँसिएको महत्त्वपूर्ण प्रश्न पनि थियो।
अनुसन्धानले विस्तारै गति लिँदै थियो। भविष्यको बाटो स्पष्ट देखिन थालेको थियो। तर, जीवनका कठिन मोड़हरू प्रायः मानिसले अपेक्षा नगरेको बेला आउँछन्। उनका अनुसन्धान निर्देशकको सरुवा भयो। यो घटनाले अनुसन्धानको यात्रालाई एकाएक अनिश्चित बनायो। धेरैका लागि यस्तो परिस्थितिले वर्षौँको मेहनतलाई बीचमै रोकिदिन सक्छ। तर डा. पाण्डेले यसलाई अन्त्यका रूपमा लिएनन्।
आफ्नै अनुसन्धान निर्देशकको सुझाउअनुसार उनी बीआर अम्बेडकर बिहार विश्वविद्यालयमा स्थानान्तरण भए। विश्वविद्यालय फेरियो, प्रशासनिक प्रक्रिया फेरि शुरु भयो, तर अनुसन्धानप्रतिको उत्साह भने उस्तै रह्यो।
त्यसपछि शुरु भयो वास्तविक परीक्षा।
अनुसन्धानका लागि आवश्यक सामग्री त्यतिबेला सहज उपलब्ध थिएन। अहिलेझैँ डिजिटल पुस्तकालय र अनलाइन जर्नलको सुविधा थिएन। एउटा तथ्य प्रमाणित गर्न कहिलेकाहीँ दिनौँ लाग्थ्यो। एउटा सन्दर्भ खोज्न पुस्तकालयदेखि अनुसन्धान संस्थासम्म पुग्नुपर्थ्यो। सिक्किमको वन संरक्षणसम्बन्धी कानुनी पक्षलाई गहिरो रूपमा बुझ्न उनी सुकना वन अनुसन्धान केन्द्र, सिलगढ़ी पुगे। त्यहाँका अनुसन्धानकर्ता र वन विशेषज्ञहरूसँग चर्चा गरे। अनुसन्धानलाई अझ सुदृढ़ बनाउन उनी देहरादूनस्थित वन अनुसन्धान संस्थानसम्म पुगे। पुस्तक, प्रतिवेदन, कानुनी दस्तावेज र अनुसन्धान सामग्री सङ्कलन गर्दै उनले आफ्नो अध्ययनलाई प्रमाणमा आधारित बनाउँदै लगे।
त्यो यात्रा केवल पुस्तकको खोजी थिएन। त्यो सत्यको खोजी थियो। अनुसन्धानसँगै जीवनका अन्य जिम्मेवारी पनि सँगसँगै चलिरहेका थिए। कहिलेकाहीँ थकानले शरीरलाई विश्राम खोज्न बाध्य पार्थ्यो। कहिलेकाहीँ अनुसन्धानको गति सुस्त हुँदा मनमा निराशा पनि आउँथ्यो।
यस्तै समयमा केही साथीको साथ उनका लागि ठूलो ऊर्जा बन्यो। उनी आज पनि उनीहरूलाई कृतज्ञतापूर्वक सम्झन्छन्। उनीहरूले बारम्बार एउटै कुरा भनिरहन्थे- “यति टाढ़ासम्म आइपुग्यौ, अब फर्किने होइन। अन्तिमसम्म पुग्नुपर्छ।”
कहिलेकाहीँ एउटा विश्वासले मानिसलाई आफ्नै क्षमतामाथि फेरि विश्वास गर्न सिकाउँछ। डा. पाण्डेको यात्रामा पनि त्यही भयो। वर्षौँको अध्ययन, तथ्य सङ्कलन, विश्लेषण र लेखनपछि अनुसन्धानको मस्यौदा तयार भयो। तर अनुसन्धान निर्देशकले त्यसलाई अन्तिम मानेनन्। केही अध्याय पुनः लेख्न, केही तथ्य थप पुष्टि गर्न र भाषा अझ परिमार्जन गर्न सुझाउ दिए। उनले त्यसलाई अस्वीकार गरेनन्। बरु, अनुसन्धान अझ राम्रो बनाउने अवसरका रूपमा स्वीकारे। करिब चार महिनासम्म फेरि संशोधन चल्यो। प्रत्येक अध्याय फेरि पढ़ियो। प्रत्येक सन्दर्भ पुनः जाँचियो। प्रत्येक निष्कर्षलाई प्रमाणले अझ मजबुत बनाइयो।
अन्ततः त्यो दिन आयो, जसको प्रतीक्षा वर्षौँदेखि थियो। थेसिस स्वीकृत भयो। मौखिक परीक्षा सफलतापूर्वक सम्पन्न भयो र, सन् 2008 मा डा. दिलीप पाण्डे सिक्किमबाट कानून विषयमा विद्यावारिधि प्राप्त गर्ने पहिलो व्यक्ति बने।
त्यो उपलब्धिले एउटा व्यक्तिलाई नयाँ उपाधि दियो। तर, त्यसभन्दा ठूलो कुरा के थियो भने- त्यस दिन सिक्किमको कानुनी शिक्षाको इतिहासमा एउटा नयाँ अध्याय थपियो। एकजना मानिसले आफ्नो सपना पूरा मात्र गरेनन्। उनले त्यसपछिका पुस्ताका लागि सम्भावनाको नयाँ ढोका पनि खोलिदिए।
तर, उनी आज पनि आफ्नो सफलताको वर्णन गर्दा एउटै कुरा दोहोर्याइरहन्छन्- “विद्यावारिधि हासिल गर्नु ठूलो कुरा होइन। त्यसपछि पनि सिक्ने र अनुसन्धान गर्ने संस्कृतिलाई निरन्तरता दिन सक्नु नै वास्तविक उपलब्धि हो।”
यही विनम्रताले डा. दिलीप पाण्डेलाई एउटा सफल शिक्षाविद् मात्र होइन, नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत पनि बनाएको छ।
ज्ञानको यात्रामा अझै पनि विद्यार्थी-
सन् 2008 मा सिक्किमबाट कानून विषयमा पहिलो विद्यावारिधि हासिल गरेपछि डा. दिलीप पाण्डेको जीवनमा एउटा नयाँ अध्याय शुरु भयो। तर, उनका लागि त्यो यात्रा टुङ्गिएको बिन्दु थिएन। बरु त्यस दिनदेखि उनको काँधमा अर्को जिम्मेवारी थपियो- आफूले आर्जन गरेको ज्ञानलाई नयाँ पुस्तासम्म पुर्याउने।
विद्यावारिधिपछि उनी पूर्ण रूपमा अध्यापन र अनुसन्धानमा सक्रिय भए। सिक्किम गभर्मेन्ट ल कलेजमा उनले वर्षौँसम्म कानून अध्यापन गर्दै सयौँ विद्यार्थीलाई मार्गदर्शन गरे। समयसँगै उनी एसोसिएट प्रोफेसरको जिम्मेवारीमा पुगे। यसपछि उनले प्राचार्यका रूपमा पनि संस्थाको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरे। तर पद र जिम्मेवारी बढ़्दै जाँदा पनि उनको परिचय बदलिएन। उनी आफूलाई आज पनि सबैभन्दा पहिले विद्यार्थी नै ठान्छन्।
उनको विश्वास छ- शिक्षकले सिक्न छोड़ेको दिनदेखि उसले राम्रोसँग पढ़ाउन पनि छोड्छ। त्यसैले नयाँ कानून, नयाँ न्यायिक व्याख्या, नयाँ अनुसन्धान र बद्लिँदो समाजलाई निरन्तर अध्ययन गरिरहनुपर्ने उनी बताउँछन्। उनको कक्षामा कानून केवल पुस्तकका धाराहरूमा सीमित हुँदैन। उनी विद्यार्थीलाई एउटा प्रश्न सोध्छन्- कानून किन बनेको हो?
किनभने उनका अनुसार, कानूनको उद्देश्य मानिसलाई डर देखाउनु होइन; न्यायमा विश्वास जगाउनु हो। त्यसैले उनी विद्यार्थीलाई घोकाइभन्दा सोच्न सिकाउन जोड़ दिन्छन्। अदालतमा राम्रो वकिल बन्नुभन्दा पहिले समाजलाई बुझ्ने नागरिक बन्न आवश्यक रहेको उनको धारणा छ।
समाजमा कानुनी चेतना विस्तार भएको विषयलाई पनि उनी सकारात्मक परिवर्तनका रूपमा हेर्छन्। पहिले धेरै अन्याय मौनतामै दबिएर बस्ने गर्थे। आज मानिसहरू आफ्नो अधिकारप्रति सचेत बन्दै गएका छन्। विद्यालय, महाविद्यालय, कानुनी सहायता शिविर र सामाजिक संस्थानहरूले यसमा महत्त्वपूर्ण भूमिका खेलेको उनको विश्वास छ। उनको अर्को चिन्ता भनेको अनुसन्धान संस्कृतिको विकास हो।
विद्यार्थीहरूलाई उनी सधैँ सम्झाउँछन्- “अनुसन्धान उपाधिका लागि मात्र नगर्नुहोस्। अनुसन्धान समाजलाई केही नयाँ दिनका लागि गर्नुहोस्।” सायद यही सोचले उनलाई सामान्य शिक्षकभन्दा फरक बनाएको छ।
सफलताको पछाड़ि उभिएका मानिसहरू-
आफ्नो सफलताको चर्चा गर्दा डा. दिलीप पाण्डे कहिल्यै आफूबाट शुरु गर्दैनन्। उनी सबैभन्दा पहिले आफ्ना बुवा-आमा, गुरुजन, सहकर्मी, साथीभाइ र परिवारलाई सम्झन्छन्। विशेष गरी अनुसन्धानका कठिन दिनहरूमा साथ दिएका साथीहरूप्रति उनको कृतज्ञता आज पनि उस्तै छ। उनको भनाइमा, जीवनमा कहिलेकाहीँ एउटा व्यक्तिको विश्वासले अर्को व्यक्तिको भविष्य बद्लाइदिन्छ। त्यसैले उनी सफलतालाई व्यक्तिगत उपलब्धिभन्दा सामूहिक यात्राको परिणाम मान्छन्।
सपना बदलियो, लक्ष्य बदलिएन-
विद्यालयमा विज्ञान पढ्ने सपना देख्ने एउटा विद्यार्थी परिस्थितिका कारण मानविकी रोज्न बाध्य भयो।
सरकारी सेवामा प्रवेश गर्यो।
साँझ कानून पढ्यो।
एलएलएम गर्यो।
अनुसन्धानमा वर्षौँ बितायो।
अनेक कठिनाइ पार गर्दै अन्ततः सिक्किमबाट कानून विषयमा पहिलो विद्यावारिधि प्राप्त गर्यो।
र, त्यसपछि आफ्नै सफलतालाई समाज र नयाँ पुस्ताको सफलतासँग जोड़िदियो।
सायद यही कारणले डा. दिलीप पाण्डेको जीवन केवल एउटा व्यक्तिको जीवनी होइन; यो सङ्कल्प, अनुशासन, निरन्तर अध्ययन र समाजप्रतिको उत्तरदायित्वको जीवित उदाहरण हो। आज सिक्किमका युवाहरूले उच्च शिक्षा र अनुसन्धानका नयाँ सपना देखिरहेका छन्। ती सपनाहरू साकार पार्ने यात्रामा डा. दिलीप पाण्डेजस्ता अग्रजहरूको सङ्घर्षले प्रेरणाको काम गरिरहनेछ। किनभने जीवनले बाटो परिवर्तन गरिदिन सक्छ, तर लक्ष्य परिवर्तन गर्न बाध्य पार्न सक्दैन। र सायद यही कारणले यो यात्राको सबैभन्दा उपयुक्त परिचय यही हो- सपना बदलियो, लक्ष्य बदलिएन।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →अन्तर्वार्ता • १२ अक्टोबर, २०२६
अन्तर्वार्ता • ०५ सेप्टेम्बर, २०२६