शिलङ लाजोङ एफसी फाइनलमा प्रवेश

लाक्पा तेञ्जिङ शेर्पा / अर्चना तामाङ
• खेलकुद • १४ अक्टोबर, २०२६
शिलङ लाजोङ एफसी फाइनलमा प्रवेश

अब सिक्किम आक्रमणसँग उपाधिका लागि भिड्ने

गान्तोक, 14 अक्टोबरः पेनाल्टी सुटआउटमा सिङ्लिङ एससीलाई 5-4 गोल अन्तरले पराजित गर्दै शिलङ लाजोङले फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ। राजधानी गान्तोकस्थित पाल्जर स्टेडियममा बुधवार सम्पन्न 42औँ अखिल भारतीय गभर्नर्स गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल निकै रोमाञ्चक मोड़मा सम्पन्न भयो।

सिङ्लिङ स्पोर्टिङ क्लब र शिलङ लाजोङ एफसीबीचको प्रतिस्पर्धात्मक खेल निर्धारित 90 मिनटसम्म गोलरहित बराबरीमा समाप्त भएको थियो। खेलको प्रथमार्द्धमा दुवै टोलीले आक्रामक तथा रक्षात्मक खेल प्रस्तुत गरे पनि गोल गर्न सकेनन्।

खेलको उत्तरार्द्धको 55औँ मिनटमा सिङ्लिङ स्पोर्टिङ क्लबका गोलरक्षकले रेड कार्ड पाएपछि टोली रहल समय 10 जना खेलाड़ीसहित खेल्न बाध्य भयो। यस मोड़पछि खेल थप रोमाञ्चक बनेको थियो।

खेलको उत्तरार्द्धमा शिलङ लाजोङ एफसीले लगातार आक्रमण गर्दै सिङ्लिङ स्पोर्टिङ क्लबमाथि दबाउ सिर्जना गर्‍यो। यद्यपि, 10 जना खेलाड़ीमा सीमित रहेको सिङ्लिङले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै निर्धारित समयसम्म गोल हुन दिएन।

निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो। पेनाल्टी सुटआउटमा शिलङ लाजोङ एफसीले बाजी मार्दै 5-4 गोल अन्तरले जीत हासिल गर्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित पार्‍यो। उत्कृष्ट प्रदर्शन गरेकोमा शिलङ लाजोङका गोलकिपर रनितलाई म्यान अफ् द म्याच घोषित गरियो।

अब शिलङ लाजोङ एफसीले 16 अक्टोबरको दिन आयोजन हुने फाइनलमा उपाधिका लागि घरेलु टोली सिक्किम आक्रमण एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

घरेलु टोली सिक्किम आक्रमण एफसी र शिलोङ लाजोङ एफसीबीचको फाइनल भिडन्तलाई लिएर फुटबलप्रेमीहरूमा उत्साह बढ़ेको छ। दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। आज सम्पन्न खेलमा सिक्किम सरकारका जनस्वास्थ्य अभियान्त्रिकी तथा धर्म विभागका मन्त्री सोनाम लामा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा स्यारी निर्वाचन क्षेत्रका विधायक तेञ्जिङ लाम्टा, धर्म विभागका सल्लाहकार छेवाङ राई, सूचना तथा जनसम्पर्क विभागका अध्यक्ष अशीत राईसहित अन्यको उपस्थिति रहेको थियो।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ